सिरहा । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) ले सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट पार्टीका केन्द्रीय सदस्य तथा मधेस प्रदेश इन्चार्जसमेत रहेका पूर्वकानुन मन्त्री लीलानाथ श्रेष्ठलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ ।
शनिबार सम्पन्न निर्वाचन क्षेत्रीय समन्वय समितिको बैठकले श्रेष्ठको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो । पार्टी स्रोतका अनुसार श्रेष्ठको राजनीतिक अनुभव, संगठनात्मक क्षमता र क्षेत्रप्रतिको योगदानलाई ध्यानमा राख्दै एकल नाम सिफारिस गरिएको हो ।
श्रेष्ठ यसअघि २०७४ र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा पनि सिरहा निर्वाचन क्षेत्र नम्बर ३ बाट निर्वाचित भइसकेका छन् । निरन्तर संसदीय अनुभव भएका नेता श्रेष्ठको उम्मेदवारीलाई स्थानीय तहदेखि केन्द्रसम्म सकारात्मक रूपमा लिइएको बताइएको छ ।