पर्सा जिल्लामा अवैध हुण्डी कारोबारविरुद्ध प्रहरीले कडाइ गरेको छ । स्रोत नखुलेको १० लाख रुपैयाँभन्दा बढी रकमसहित पर्सा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले जगरनाथपुर गाउँपालिका–३ बाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा सखुवा प्रसौनी गाउँपालिका–४ निवासी पवनकुमार साह, मुस्ताक अन्सारी र रामपुकार पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख सुदिपराज पाठकका अनुसार पक्राउ परेकाहरूको साथबाट जाँचका क्रममा स्रोत खुलाउन नसकिएको नगद १० लाख २ हजार १० रुपैयाँ बरामद गरिएको छ ।
बरामद रकमको वैध स्रोत पुष्टि गर्न नसकिएपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । साथै, उनीहरूको साथबाट ना.१६ प ३०२० नम्बरको मोटरसाइकलसमेत बरामद गरिएको छ ।
घटनासम्बन्धी थप अनुसन्धानका लागि पक्राउ परेकाहरूविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ (क) बमोजिम हुण्डी कारोबार गर्न नहुने कसूरमा मुद्दा दर्ता गरिएको छ ।
पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिएको छ ।