रौतहट जिल्लाको दुर्गा भगवती गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष रामानन्द यादवमाथि नाबालिका किशोरी भगाउने घटनामा प्रत्यक्ष संलग्नता तथा दोषी पक्षलाई संरक्षण गरेको आरोप लागेको छ ।
समाज सुधार, सामाजिक मर्यादा संरक्षण तथा नागरिकप्रति जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने जनप्रतिनिधिबाटै यस्तो गम्भीर र संवेदनशील घटनामा गैरजिम्मेवार व्यवहार देखिएको आरोप लागेपछि घटनाले स्थानीय तहमा व्यापक चर्चा पाएको छ ।
दुर्गा भगवती गाउँपालिका–४ अन्तर्गत छतौना गाउँकी १४ वर्षीया नाबालिका किशोरीलाई सोही गाउँका १७ वर्षीय नाबालक युवकले प्रेमको प्रभावमा पारेर घरबाट लगेको घटनापछि पीडित बालिकाका अभिभावक तथा आफन्तहरूले वडाअध्यक्षसहित समाजका अगुवासँग छोरीलाई सुरक्षित रूपमा फिर्ता गरिदिन हारगुहार गरेका थिए । तर पीडित पक्षलाई सहयोग गर्नुको सट्टा वडाअध्यक्षले दोषी भनिएका पक्षलाई संरक्षण र समर्थन गरेको आरोप लगाइएको छ ।
यसैबीच सार्वजनिक भएको एक भिडियोमा वडाअध्यक्षले नाबालिका भगाउने आरोप लागेका युवकलाई प्रशिक्षणजस्तो सल्लाह दिएको, पीडित परिवारको इज्जतमा आँच पुग्ने अभिव्यक्ति दिएको तथा किशोरीलाई आफ्नै परिवारविरुद्ध झुटा आरोप लगाउन दबाब दिएको जस्तो सुनिने आवाजहरू रहेको बताइएको छ ।
नाबालिकालाई प्रेमजालमा फसाई घरबाट भगाउनेजस्तो गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउनुपर्नेमा जनप्रतिनिधिबाटै उल्टो भूमिका देखिएको आरोप लागेपछि वडाअध्यक्षमाथि छानबिन तथा कारबाहीको माग तीव्र बनेको छ ।
घटनाप्रति सम्बन्धित निकाय, सुरक्षा निकाय, बाल अधिकारकर्मी तथा सरोकारवालाहरूले गम्भीर ध्यानाकर्षण गराउँदै पीडित नाबालिकाको शीघ्र उद्धार, सुरक्षा सुनिश्चित गर्न तथा आरोपित वडाअध्यक्षसहित दोषीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् ।