पुष २७ गते मनाइने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरलाई मध्यनजर गर्दै बारामा नेपाली सेनाले बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाली सेनाको रिपुमर्दन गण बाराको आयोजनामा कलैया उपमहानगरपालिकाका विभिन्न सार्वजनिक स्थानहरूमा सरसफाइ गरिएको हो । गणको टोलीले सिद्धेश्वर मन्दिर परिसर, भरत चौक तथा प्रादेशिक अस्पताल कलैयामा बृहत् सरसफाइ अभियान सञ्चालन गरेको थियो ।
धार्मिक, व्यावसायिक र स्वास्थ्य सेवासँग सम्बन्धित महत्वपूर्ण क्षेत्रलाई केन्द्रमा राखी गरिएको सरसफाइले स्थानीय वातावरण स्वच्छ राख्न सहयोग पुगेको छ । गणपति अशोक क्षेत्रीका अनुसार पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर सोमबार उक्त सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।
गणपति क्षेत्रीले भने, “राष्ट्र, समाज र नागरिकप्रति उत्तरदायी हुँदै सार्वजनिक स्थानको संरक्षण र सरसफाइमा नेपाली सेना सधैं अग्रसर रहँदै आएको छ ।” नेपाली सेनाको यस पहललाई स्थानीयवासीहरूले सकारात्मक रूपमा स्वागत गरेका छन् ।
सरसफाइ अभियानले न केवल सार्वजनिक स्थानको सौन्दर्य बढाएको छ, यसले समुदायमा स्वच्छता र नागरिक उत्तरदायित्वको सन्देश प्रवाह गर्न समेत महत्वपूर्ण भूमिका खेलेको छ ।