नेपाल पत्रकार महासंघ पर्सा शाखाले धार्मिक समुदायको नाममा गरिएका प्रदर्शनका क्रममा सञ्चारकर्मीमाथि भएको आक्रमण तथा दुव्र्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका अनुसार पछिल्लो समय विभिन्न धार्मिक समुदायले वीरगञ्जलगायतका स्थानमा आयोजना गरेका प्रदर्शनको समाचार संकलनमा खटिएका सञ्चारकर्मीहरू माथि आक्रमण हुनुका साथै समाचार संकलनमा अवरोध सिर्जना गरिएको छ ।
यसै सन्दर्भमा सोमबार ‘भोजपुरी टाइम्स’ दैनिकका कार्यकारी सम्पादक सञ्जय साह प्रदर्शनको दृश्य खिचिरहेका बेला प्रदर्शनकारीले मोबाइल खोसी दुव्र्यवहार गरेको घटनाप्रति महासंघले कडा आपत्ति जनाएको छ ।
महासंघले पत्रकारमाथि हुने यस्ता आक्रमण तथा अवरोधलाई प्रेस स्वतन्त्रता र नागरिकको सूचनाको हकविरुद्धको गम्भीर उल्लङ्घन भएको उल्लेख गर्दै दोषीलाई तत्काल कानुनी दायरामा ल्याई कडा कारबाही गर्न माग गरेको छ ।
शान्तिपूर्ण प्रदर्शनको नाममा सञ्चारकर्मीमाथि आक्रमण गर्नु लोकतान्त्रिक मूल्य–मान्यताविपरीत भएको महासंघ पर्सा शाखाका सचिव विजय महतोले जनाएका छन् ।
साथै, महासंघले सञ्चारमाध्यम र पत्रकारहरूलाई धार्मिक, जातीय तथा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पर्न सक्ने सामग्री प्रकाशन तथा प्रसारण गर्दा संयम र सावधानी अपनाउन आग्रह गरेको छ ।
पत्रकार आचारसंहिता २०७३ (पहिलो संशोधन २०७५) अनुसार सबै जात, धर्म, भाषा तथा संस्कृतिको सम्मान गर्दै समाचार सम्प्रेषण गर्नुपर्ने महासंघको धारणा रहेको छ ।
नेपाल पत्रकार महासंघ पर्सा शाखाले प्रेस स्वतन्त्रताको सम्मान गर्न, पत्रकारको सुरक्षा सुनिश्चित गर्न तथा धार्मिक तथा साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमित र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।