मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णले सामाजिक सद्भाव, आपसी सम्मान र शान्ति कायम राख्न प्रदेशवासीलाई आग्रह गरेका छन् ।
प्रदेशवासीको नाममा सोमबार जारी गरेको अपिलमा उनले मधेश प्रदेश विविध भाषा, धर्म, संस्कृति र परम्पराको सुन्दर संगम स्थल भएको उल्लेख गर्दै सदियौंदेखि आपसी सहअस्तित्व, ‘अतिथि देवो भवः’ र ‘वसुधैव कुटुम्बकम्’ जस्ता मूल्य–मान्यतालाई आत्मसात गर्दै आएको बताए ।
प्रदेश प्रमुख कर्णले पछिल्लो समय प्रदेशका केही स्थानमा देखिएका असहिष्णु गतिविधि र असमझदारीले सामाजिक एकता र भाइचारामा आँच पुग्न सक्नेप्रति चिन्ता व्यक्त गरेका छन् । समाजलाई विभाजन गर्ने तत्वबाट सचेत रहँदै कुनै पनि प्रकारको उक्साहट वा आवेगमा नआई धैर्य र संयम अपनाउन उनले आग्रह गरेका छन् ।
विचार र आस्थामा भिन्नता हुन सक्ने भए पनि मानवीय पहिचान र सामाजिक एकता साझा भएको उल्लेख गर्दै प्रदेश प्रमुख कर्णले सामाजिक सञ्जाल वा अन्य कुनै माध्यमबाट कसैको भावना चोट पुग्ने कार्य नगर्न सबैलाई अनुरोध गरेका छन् । साथै समाजमा शान्ति, सहिष्णुता र अमनचयन कायम राख्न एकजुट हुन आह्वान गरिएको छ ।
संवाद, सहकार्य र आपसी समझदारी नै हरेक समस्याको दिगो समाधान भएको उल्लेख गर्दै उनले मधेश केवल विविधताको भूमि मात्र नभई एकता, प्रेम र सद्भावको भूमि भएको प्रस्ट पारेका छन् ।
शान्ति र सद्भाव नै मधेशको पहिचान भएको प्रदेश प्रमुख कर्णको भनाइ छ ।