जिल्ला प्रशासन कार्यालय पर्साले वीरगञ्ज महानगरपालिकाका विभिन्न संवेदनशील क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार हाल उत्पन्न सुरक्षा अवस्था र सम्भावित अशान्तिलाई मध्यनजर गर्दै उक्त आदेश जारी गरिएको हो ।
प्रशासनका अनुसार कर्फ्यु आदेश आजदेखि लागू भई भोलि बिहान ८ बजेसम्म कायम रहनेछ । कर्फ्यु अवधिभर तोकिएका क्षेत्रमा कुनै पनि प्रकारको आवतजावत, भेला, सभा, जुलुस, प्रदर्शन तथा अन्य गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साद्वारा जारी सूचनाअनुसार कर्फ्यु लागू गरिएका क्षेत्रहरूको सिमाना यसप्रकार रहेको छः
पूर्व: बाइपास रोड
पश्चिम: सिर्सिया पुल
उत्तर: पावर हाउस चौक
दक्षिण: शंकराचार्य गेट
प्रशासनले कर्फ्यु आदेशको उल्लङ्घन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिएको छ । साथै शान्ति–सुरक्षा कायम राख्न सुरक्षा निकायलाई उच्च सतर्कतामा राखिएको जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले आम नागरिकलाई अत्यावश्यक बाहेक घरबाहिर ननिस्कन, सुरक्षा निकायलाई सहयोग गर्न तथा अफवाहमा नपर्न आग्रह गरेको छ । शान्ति, अमनचयन र सामाजिक सद्भाव कायम राख्न सबै पक्षको संयमित र जिम्मेवार भूमिका आवश्यक रहेको प्रशासनको भनाइ छ ।