फरक समुदायबीच उत्पन्न विवादका कारण तनावग्रस्त बनेको वीरगञ्जको अवस्था सामान्य बनाउन जिल्ला प्रशासन कार्यालय पर्साले सक्रिय पहल थालेको छ ।
सोमबारदेखि उग्र बन्दै गएको परिस्थितिलाई नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी (सीडीओ) भोला दाहालले जिल्लास्थित राजनीतिक दलहरूसँग छलफल तथा विमर्श सुरु गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयका अनुसार आज बिहान साढे ८ बजेदेखि सीडीओ दाहालले विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूलाई कार्यालयमा बोलाई संवाद थालेका हुन् ।
शहरको शान्ति–सुरक्षा पुनःस्थापना तथा जनजीवनलाई पुरानै लयमा फर्काउने विषयमा केन्द्रित रहेर छलफल भइरहेको प्रशासनले जनाएको छ । छलफलमा जिल्लाका अधिकांश राजनीतिक दलका प्रतिनिधिहरूको उपस्थिति रहेको बताइएको छ ।
प्रशासनले राजनीतिक दलहरूसँगको सहकार्य र समन्वयमार्फत समस्या समाधानको बाटो खोजिरहेको जनाएको छ ।
वीरगञ्जमा सोमबारदेखि हिन्दु धर्मका देवी–देवतामाथि अभद्र टिप्पणी गरिएको आरोप लगाउँदै हिन्दुवादी सङ्गठनहरूले प्रदर्शन सुरु गरेपछि अवस्था तनावग्रस्त बनेको थियो ।
स्थिति प्रशासनको नियन्त्रण बाहिर जान थालेपछि सुरुमा निषेधाज्ञा जारी गरिएको थियो भने पछि साँझ ६ बजेदेखि कर्फ्यु लागू गरिएको थियो । हाल कर्फ्यु आज दिउँसो १ बजेसम्मका लागि लम्ब्याइएको छ ।
प्रशासनले अवस्था अनुकूल भएमा थप निर्णय गरिने जनाउँदै सबै पक्षलाई संयम अपनाउन आग्रह गरेको छ ।