बाँके राष्ट्रिय निकुञ्जले राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी क्षेत्रमा मान्छे आक्रमण गर्ने बाघको खोजी तीव्र बनाएको छ । बाघको गतिविधि पत्ता लगाउन घटनास्थल वरपर क्यामेरा जडान गरी अनुगमन भइरहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका वरिष्ठ संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँडेलका अनुसार घटनास्थल वरपर पाँच थान क्यामेरा जडान गरेर निगरानी गरिए पनि हालसम्म बाघ देखापरेको छैन ।
“हामीले घटनास्थल वरिपरिको क्षेत्रमा क्यामेरा जडान गरेर बाघको खोजी गरिरहेका छौँ, हालसम्म बाघ देखिएको छैन,” कँडेलले भने, “दुर्घटनास्थलमा फर्केर नआएकाले आहारा खाएपछि आफ्नो बाटो लागेको हुनसक्छ ।”
राप्तीसोनारी गाउँपालिका–१ कुसुमस्थित सौरी निवासी ६२ वर्षीय मरिचमान भण्डारीको गत शनिबार गाई चराउन गएका बेला बाघको आक्रमणमा परी मृत्यु भएको थियो ।
बाघले आफ्नो आहारा जोगाउने क्रममा दुर्घटनावश भण्डारीमाथि आक्रमण गरेको हुनसक्ने निकुञ्जको अनुमान छ । “बाघले गाई मारी खाइरहेको अवस्थामा गोठालोका रूपमा गएका भण्डारी नजिक पुगेका कारण आहारा जोगाउन आक्रमण भएको हुन सक्छ,” वरिष्ठ संरक्षण अधिकृत कँडेलले बताए ।
निकुञ्ज प्रशासनले स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गर्दै वन क्षेत्रमा एक्लै नजान र सुरक्षात्मक उपाय अपनाउन अनुरोध गरेको छ ।