पर्साका राजनीतिक दलका प्रतिनिधिसहित बसेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले वीरगञ्ज महानगरमा देखिएको सामाजिक तथा धार्मिक आस्थासँग जोडिएको विषयलाई आपसी समझदारी र सामाजिक सद्भाव कायम गर्दै समाधान गर्नुपर्ने निष्कर्ष निकालेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साको अगुवाइमा आज बसेको बैठकले साम्प्रदायिक सद्भाव कायम राख्न सबै पक्षलाई संयमता अपनाउन अनुरोध गरेको हो ।
बैठकमा नेपाली कांग्रेस पर्साका कार्यवाहक सभापति रामनारायण कुर्मीले पछिल्लो समय देखिएको समस्यालाई दुवै समुदाय मिलेर टुंग्याउनुपर्ने धारणा व्यक्त गरे । “समाजमा आगो लगाउनु कुनै पक्षको हितमा हुँदैन,” उनले भने, “सदियौँदेखि कायम रहँदै आएको सामाजिक सद्भाव जोगाउँदै शान्ति र अमनचयन कायम गर्न सबै अग्रसर हुन आवश्यक छ ।”
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका सभापति हरि पन्तले हिन्दू पुरोहित र मुस्लिम धर्मगुरु मौलानाको अग्रसरतामा सामाजिक सद्भाव मजबुत बनाएर दीर्घकालीन समाधान खोज्नुपर्ने बताए । “वीरगञ्जमा विगत केही वर्षदेखि देखिँदै आएको समस्या समाधान गर्न अब सबै पक्षले हातेमालो गरेर अघि बढ्नुपर्ने अवस्था आएको छ,” उनले भने ।
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) पर्साका अध्यक्ष बालगोपाल थापाले यहाँ देखिएको समस्या मौलिकभन्दा पनि अन्य स्थानको सिको गर्ने प्रवृत्तिका कारण उब्जिने गरेको गुनासो व्यक्त गरे । जनता समाजवादी पार्टी (जसपा) का युवा नेता तबरेज अहमदले विदेशी मुलुकमा भएका घटनालाई आधार बनाएर वीरगञ्जमा विरोध प्रदर्शन तथा गतिविधि गर्नु उपयुक्त नभएको बताए । “अन्य देशमा भएका घटनाका आधारमा यहाँ विरोध र प्रदर्शन हुँदा वीरगञ्जमा अप्ठेरो अवस्था सिर्जना भइरहेको छ,” उनले भने, “वीरगञ्जलाई शान्तिक्षेत्रका रूपमा जोगाउन सबै जिम्मेवार हुनुपर्छ ।”
पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले सबै निकायसँग समन्वय र सहकार्य गर्दै सामाजिक सद्भाव कायम गर्न प्रशासन निरन्तर सक्रिय रहेको बताए । “धार्मिक वा सामाजिक द्वन्द्वले कसैलाई फाइदा पुर्याउँदैन,” उनले भने, “सबैले एकताबद्ध भएर शान्ति कायम गर्न सहयोग गर्न आवश्यक छ ।”
बैठकले वीरगञ्जको पहिचान शान्ति, सहअस्तित्व र सद्भाव भएकाले त्यसलाई जोगाउन सबै पक्ष जिम्मेवार बन्नुपर्ने निष्कर्ष निकालेको छ ।