नवलपुरको कावासोती नगरपालिका वडा नं. ३, ४ र ५ लाई जोड्ने केरुङ्गे खोलामा निर्माणाधीन पुलको आठ वर्षमा करिब ९० प्रतिशत काम सम्पन्न भएको छ ।
तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्यसहित विसं २०७५ सालमा सुरु गरिएको पुल निर्माण हालसम्म आइपुग्दा ९० प्रतिशत पूरा भएको कावासोती–४ का वडाध्यक्ष नारायणप्रसाद लोहनीले जानकारी दिनुभयो ।
उहाँका अनुसार विसं २०७७ साल असारसम्म निर्माण सम्पन्न गर्नुपर्ने भए पनि ठेकेदार कम्पनीले पटक–पटक काम अलपत्र पार्दै सम्पर्कविहीन भएपछि निर्माण समयमा सम्पन्न हुन सकेन । पछि विसं २०८० साल असारसम्म काम सम्पन्न गर्ने सर्तमा म्याद थप गरिएको थियो ।
हाल पुलको माथिल्लो भागमा कालोपत्रे भई सवारी आवतजावत गर्न मिल्ने अवस्था रहेको भए पनि पुललाई जोड्ने दायाँ–बायाँ सडक कालोपत्रे हुन बाँकी रहेको छ । यसका साथै तटबन्ध निर्माण तथा ग्याबिन वाल जडानको काम पनि अझै पूरा हुन सकेको छैन ।
तटबन्ध निर्माण नहुँदा तटीय क्षेत्रमा डुबानको जोखिम बढेको उल्लेख गर्दै वडाध्यक्ष लोहनीले बाँकी काम तत्काल तीव्रताका साथ सम्पन्न गर्न ठेकेदार कम्पनीलाई आग्रह गर्नुभएको छ ।
एक सय ४० मिटर लम्बाइको उक्त पुल साढे १० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले ठेक्का पाएको हो ।
पुल निर्माण नहुँदा वर्षायाममा विद्यालय जाने विद्यार्थीहरू, हुप्सेकोट र कावासोती क्षेत्रका व्यावसायिक किसानहरूलाई आउजाउमा ठूलो समस्या हुने गरेको थियो । पुल निर्माण सम्पन्न भएपछि आवागमन सहज हुनुका साथै पाल्पासम्मको यात्रा दूरी पनि छोटिने अपेक्षा गरिएको छ ।