वीरगन्ज महानगरपालिकाका संवेदनशील क्षेत्रहरूमा लागू गरिएको कर्फ्यु आदेश पुनः लम्ब्याइएको छ । शान्ति–सुरक्षा अवस्था अझै पूर्ण रूपमा सामान्य हुन नसकेको भन्दै जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु अवधि थप गरेको हो ।
जिल्ला प्रशासनले मंगलबार दिउँसो जारी गरेको सूचनाअनुसार यसअघि आज दिउँसो १ बजेसम्म लागू कर्फ्युलाई निरन्तरता दिँदै बेलुका ६ बजेसम्म कायम गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार सम्भावित अवाञ्छित गतिविधि नियन्त्रण तथा सार्वजनिक सुरक्षा सुनिश्चित गर्न कर्फ्यु अवधि बढाउनुपरेको हो । यसअघि सोमबार साँझ वीरगन्ज महानगर क्षेत्रमा मंगलबार बिहान ८ बजेसम्म कर्फ्यु लागू गरिएको थियो । तर अवस्था सहज नदेखिएपछि प्रशासनले समय थप्दै कडाइ कायम गरेको जनाएको छ ।
कर्फ्यु अवधिभर तोकिएका क्षेत्रभित्र आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक लगायत कुनै पनि गतिविधि पूर्ण रूपमा निषेध गरिएको छ । अत्यावश्यक सेवा बाहेक सर्वसाधारणलाई घरबाहिर ननिस्कन प्रशासनले अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालय पर्साले कर्फ्यु आदेश उल्लङ्घन गर्ने जो–कोहीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ । आवश्यक परे सुरक्षाकर्मीलाई गोली चलाउनसमेत अधिकार दिइएको उल्लेख गर्दै प्रशासनले सबैलाई संयमित रहन र आदेशको पूर्ण पालना गर्न आग्रह गरेको छ ।
प्रशासनका अनुसार कर्फ्यु क्षेत्र वीरगन्ज महानगरको पूर्वमा बसपार्क, नगवा र इनर्वा, पश्चिममा सिर्सिया पुल, दक्षिणमा शंकराचार्य गेट तथा उत्तरतर्फ गण्डक चोकसम्म तोकिएको छ ।