वीरगन्जमा दुई समुदायबीच उत्पन्न धार्मिक विवाद सर्वदलीय सहमतिपछि समाधानतर्फ उन्मुख भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्सामा करिब पाँच घण्टा चलेको सर्वदलीय तथा सर्वपक्षीय बैठकले पाँच बुँदे निर्णय गर्दै विवाद अन्त्य गर्ने सहमति गरेको छ । बैठकपछि आज दिउँसो ४ बजे वीरगन्जमा वृहत् सद्भाव र्याली निकाल्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार आपसी समझदारी र सहकार्यका माध्यमबाट शान्ति सुव्यवस्था कायम गर्ने उद्देश्यले सहमति गरिएको हो । सहमति अनुसार अब अन्य मुलुक वा स्थानमा भएका घटनालाई आधार बनाएर वीरगन्जमा कुनै पनि पक्षले विरोध प्रदर्शन नगर्ने निर्णय गरिएको छ । असहमति भए पीडित पक्षले प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर ज्ञापनपत्र बुझाउने र त्यसपछि मात्र कुनै कार्यक्रम तय गर्ने सहमति भएको छ ।
त्यस्तै, स्थायी सद्भाव संयन्त्र गठन गरी निरन्तर संवाद कायम राख्ने र सोही संयन्त्रको पहलमा आज दिउँसो ४ बजे सद्भाव र्याली आयोजना गर्ने निर्णय पनि गरिएको छ । धार्मिक तथा सामाजिक सद्भावमा असर नपर्ने गरी सञ्चार माध्यमले समाचार सम्प्रेषण गर्ने र बैठकमा सहभागी सबै पक्षले आफ्ना समुदायका सदस्यलाई अनुशासनमा राख्न प्रतिबद्ध रहने सहमति गरिएको प्रशासनले जनाएको छ ।
प्रशासनका अनुसार यस सहमतिसँगै वीरगन्जको अवस्था क्रमशः सामान्य बन्दै जाने अपेक्षा गरिएको छ । गत सोमबार हिन्दुवादी संगठनहरूले आफ्नो धर्मका देवी–देवतामाथि अभद्र टिप्पणी भएको आरोप लगाउँदै प्रदर्शन सुरु गरेपछि वीरगन्ज तनावग्रस्त भएको थियो ।
स्थिति नियन्त्रण बाहिर जान थालेपछि जिल्ला प्रशासनले सोमबार साँझ ६ बजेदेखि वीरगन्ज महानगरपालिकामा कर्फ्यु आदेश जारी गरेको थियो । सुरुमा बिहान ८ बजेसम्मका लागि जारी कर्फ्यु आदेश दुई पटक थप गर्दै आज साँझ ६ बजेसम्म लागू गरिएको छ ।