काठमाडौंको सिनामंगल–गैरीगाउँ क्षेत्रस्थित एक काठ गोदाममा मंगलबार अपराह्न भीषण आगलागी भएको छ ।
आगो नियन्त्रणमा राख्न दुई दमकल गएका थिए भने साँघुरो बाटोका कारण एउटामात्रै दमकल घटनास्थल पुगेको छ, अर्को दमकल अझै प्रवेश गर्न सकेको छैन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आन्तरिक टर्मिनलका प्रमुख गोपाल घिमिरेले आगो र धुवाँले उडानमा अहिलेसम्म कुनै अवरोध नपुर्याएको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार, आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको छ ।
घटना स्थलमा प्रहरी र दमकलको टोलीले नियन्त्रण प्रयास गरिरहेको भए पनि गोदामको ठूलो संरचना र सञ्झ्याल–ढोकाबाट फैलिएको आगोले नियन्त्रण कठिन बनाएको जनाइएको छ ।
हालसम्म आगलागीबाट मानवीय क्षति वा अन्य गोदाममा फैलिएको भन्ने जानकारी आएको छैन । दमकल र प्रहरीको टोलीले आगो नियन्त्रणमा ल्याउन प्रयास जारी राखेका छन् ।