कठ्याङ्ग्रिँदो चिसो र शीतलहरको असर पूर्व–पश्चिम राजमार्ग विस्तार आयोजनामा देखिन थालेको छ । कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत सर्लाही, महोत्तरी र धनुषा जिल्लामा राजमार्गलाई चार लेनमा विस्तार गर्ने काम जारी रहे पनि अत्यधिक चिसोका कारण काम सुस्त बन्दै गएको छ ।
आयोजनाअन्तर्गत सर्लाहीको फूलजोर–बागमती खण्डको जिम्मेवारी सम्हालिरहेका इन्जिनियर रमेश पाण्डेका अनुसार पछिल्ला केही दिनदेखि बाक्लो हुस्सु र शीतलहर चलेपछि कामदार जुटाउनै कठिन भएको छ ।
“चिसो असाध्य बढेपछि काममा सुस्तता आएको छ,” उहाँले भन्नुभयो, “कामदारलाई खटाउन समस्या भइरहेको छ, उपलब्ध मजदुरले भने काम गरिरहेका छन् ।”
पूर्व–पश्चिम राजमार्ग विस्तारमा अधिकांश स्थानीय मजदुर खटाइएका छन् । हाल तीनवटै जिल्लामा पुल तथा कलभर्ट निर्माणलाई प्राथमिकताका साथ अघि बढाइएको छ ।
कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) का सूचना अधिकारी तथा इन्जिनियर रामटहल यादवका अनुसार सर्लाही, महोत्तरी र धनुषामा रुख काट्ने काम पनि सँगसँगै भइरहेको छ । उहाँका अनुसार कमला पुलदेखि पथलैयासम्म करिब १३० किलोमिटर लामो राजमार्ग विस्तार परियोजनाअन्तर्गत हाल धनुषा, महोत्तरी र सर्लाहीमा मात्र ठेक्का लागेर काम भइरहेको छ भने रौतहट र बारामा ठेक्का प्रक्रिया बाँकी छ ।
कमला पुलदेखि धनुषाको जमुनिवाससम्म पहिलो खण्ड, जमुनिवासदेखि सर्लाहीको फूलजोरसम्म दोस्रो खण्ड र फूलजोरदेखि बागमतीसम्म तेस्रो खण्ड गरी तीन अलग–अलग निर्माण कम्पनीसँग सम्झौता गरेर काम तीव्र रूपमा अघि बढाइएको छ ।
आयोजना प्रमुख तथा वरिष्ठ डिभिजनल इन्जिनियर राजेशकुमार दासले अत्यधिक चिसोका कारण जङ्गल क्षेत्रमा काम गर्न झनै कठिन भएको बताउनुभयो। उहाँका अनुसार बिजुलीका पोल सार्ने काम ढिलो हुँदा आयोजनामा थप समस्या देखिएको छ ।
“चिसोको असरले केही ढिलाइ त भएकै छ,” उहाँले भन्नुभयो, “त्यसमाथि बिजुलीका पोल सार्ने काम साह्रै सुस्त हुँदा समस्या झन् बढेको छ ।”
आयोजना प्रमुख दासले नेपाल विद्युत प्राधिकरणको प्रादेशिक कार्यालय जनकपुरमा पटक–पटक पुगेर पोल सार्ने काम छिटो गर्न आग्रह गर्दै आएको जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण रूपमा भत्काएर नयाँ पुल निर्माण गर्नुपर्ने स्थानमा बर्खाअघि नै पुल र कलभर्टको काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई दबाब दिइँदैछ ।
सडक विभागले विश्व बैंकको ऋण सहयोगमा दुई लेनको पूर्व–पश्चिम राजमार्गलाई विस्तार गरी बजार क्षेत्रमा ३१ मिटर चौडाइका साथ छ लेन र अन्य स्थानमा १८ मिटर चौडाइका साथ चार लेनको बनाउने काम गरिरहेको छ ।
राजमार्ग विस्तारअन्तर्गत सर्लाही–रौतहट सीमामा पर्ने बागमती नदीमा ‘सिग्नेचर पुल’ निर्माण गरिनेछ भने मुख्य बजार क्षेत्रमा ललितपुरको ग्वार्को जस्तै ‘ओभरपास’ समेत निर्माण गर्ने योजना छ ।
हाल रहेका साँघुरा पुल पूर्ण रूपमा भत्काएर नयाँ निर्माण गरिनेछ भने लामो आकारका पुलहरू मर्मत गरी त्यसको छेउमा थप दुई लेनको नयाँ पुल बनाएर सञ्चालन गरिनेछ ।