महोत्तरी | महोत्तरी प्रहरीले चुरे भेगको दुर्गम क्षेत्रमा अवैध रूपमा लगाइएका गाँजाका बोट फँडानी गरेको छ । बर्दिवास–५ स्थित चुरे क्षेत्रको विकट वस्ति वरडाँडामा ४ विगाभन्दा बढी क्षेत्रफलमा लगाइएको गाँजा नष्ट गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक शैलेन्द्रकुमार भट्टको नेतृत्वमा इलाका प्रहरी कार्यालय बर्दिवास र गौशालाबाट खटिएको ४६ जनाको संयुक्त प्रहरी टोलीले करिब ५१ हजार गाँजाका बोट काटेर नष्ट गरेको जनाइएको छ ।
प्रहरीले फँडानी गरिएका गाँजाका हरिया बोटलाई खेतीमै जलाएर नष्ट गरेको बताइएको छ । इलाका प्रहरी बर्दिवासका डिएसपी विकास बमकाअनुसार, फँडानीको क्रममा अहिलेसम्म कोही पनि पक्राउ परेका छैनन् ।