श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सिमरा (जीतपुरसिमरा उपमहानगरपालिका–२) ले बिहीबार आफ्नाे ६८ औँ वार्षिकोत्सव भव्य रूपमा मनाएको छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णकुमार अधिकारीको अध्यक्षता तथा सूर्य नेपाल प्रा.लि.का व्यवस्थापक सुरेश काजी श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । विद्यालयले ६८ औँ वर्षमा पहिलो पटक औपचारिक रूपमा वार्षिकोत्सव मनाउँदै हालसम्मको प्रगति समेटिएको स्मारिका समेत विमोचन गरेको छ ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरूले कविता वाचन, विविध सांस्कृतिक गीत तथा नृत्य प्रस्तुत गरेका थिए । साथै लागूऔषध दुर्व्यसन विरुद्ध जनचेतना फैलाउने उद्देश्यले लघु नाटक समेत मञ्चन गरिएको थियो । कार्यक्रम सुरु हुनुअघि विद्यार्थी तथा शिक्षकहरूले विभिन्न भेषभूषामा सजिएर प्रभातफेरीमार्फत सिमरा बजार परिक्रमा गरेका थिए । दुईदिने कार्यक्रमको योजनाअनुसार आयोजित उद्घाटन समारोहमा विद्यार्थीहरूले उत्साहपूर्वक अतिथिहरूको स्वागत गरेका थिए ।
कार्यक्रममा विद्यालयले आयोजना गरेका विभिन्न खेलकुद तथा प्रतियोगिताका विजेता विद्यार्थीहरूलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिएको थियो । प्रधानाध्यापक शंकरकुमार आचार्यले विद्यालयको स्थापना कालदेखि हालसम्मको शैक्षिक उपलब्धि, गतिविधि, चुनौती र अवसरबारे जानकारी गराउँदै दाता तथा सहयोगीप्रति आभार व्यक्त गरे ।
कार्यक्रममा कक्षा ९ का विद्यार्थी पंकजकुमार सहनीले विद्यार्थीको तर्फबाट स्वागत मन्तव्य राखेका थिए भने शिक्षिका सीता अधिकारीको सहजिकरणमा सम्पन्न कार्यक्रममा सहायक प्रधानाध्यापक अच्युतदेव सिटौलाले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए ।
उक्त कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ बारा प्रमुख अशोक रौनियार, जीतपुरसिमरा उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत शिवजी प्रसाद, विभिन्न वडाका वडाध्यक्ष, राजनीतिक दलका प्रतिनिधि, शिक्षक संघ–संस्थाका पदाधिकारी, छिमेकी विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति, शिक्षक–अभिभावक संघ, सञ्चारकर्मी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।