सिर्सिया नदी प्रदूषण गर्ने उद्योगहरूमाथि सम्बन्धित निकायले कारबाही नगरेको भन्दै वीरगंजका युवाहरूले निरन्तर सचेतनामूलक विरोध गर्दै आएका छन् ।
यही सिलसिलामा शनिबार युवाहरूले वीरगंज उद्योग वाणिज्य संघको मुख्य गेटमा सिर्सिया नदीको प्रदूषित पानी बोतलमा भरेर झुण्ड्याउँदै सांकेतिक विरोध प्रदर्शन गरेका छन् । युवाहरूले उद्योगबाट निस्कने फोहर तथा रासायनिक पदार्थ सिधै सिर्सिया नदीमा मिसिँदा नदीको पानी अत्यन्त प्रदूषित बनेको तर स्थानीय प्रशासन, वातावरण संरक्षण निकाय र उद्योग वाणिज्य संघ मौन बसेको आरोप लगाएका छन् ।
प्रदर्शनकारी युवाहरूले सिर्सिया नदी वीरगंजको जीवनरेखा भएको उल्लेख गर्दै निरन्तर प्रदूषणका कारण वातावरणीय जोखिम बढ्नुका साथै स्थानीय बासिन्दाको स्वास्थ्यसमेत गम्भीर संकटमा परेको बताएका छन् ।
उनीहरूले उद्योगहरूलाई वातावरणीय मापदण्डअनुसार प्रशोधन प्रणाली (ईटीपी) अनिवार्य रूपमा सञ्चालन गर्न लगाउन, प्रदूषण गर्ने उद्योगलाई तत्काल कारबाही गर्न र सिर्सिया नदी संरक्षणका लागि दीर्घकालीन योजना ल्याउन माग गरेका छन् ।
युवाहरूले मागहरू सम्बोधन नभए थप कडा आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएका छन् ।