सिरहामा भारतबाट नेपालतर्फ भित्रिँदै गरेको मोटरसाइकलको चेकजाँचका क्रममा प्रहरीले ३९.९० ग्राम ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सखुवानन्कारकट्टी गाउँपालिका–२ का २२ वर्षीय श्रवणकुमार कामैत रहेका छन् ।
शनिबार नवराजपुर गाउँपालिका–५ स्थित झाझपट्टी सडक खण्डमा नियमित चेकजाँच भइरहेको बेला, प्र.२–०१–००२ प १६०८ नम्बरको मोटरसाइकल शङ्कास्पद देखिएपछि प्रहरीले रोकेको थियो ।
तलासीका क्रममा कामैतले ज्याकेटको खल्तीमा लुकाएर ल्याएको लागुऔषध फेला परेको हो ।
इलाका प्रहरी कार्यालय महेशपुरपतार र झाझपट्टीबाट खटिएको संयुक्त टोलीले गरेको तलासीमा, स्टिलको बट्टाभित्र लुकाइ राखिएको अवस्थामा ३९.९० ग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
सिरहा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालका अनुसार, पक्राउ परेका कामैतविरुद्ध लागुऔषधसम्बन्धी मुद्दामा आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।
प्रहरीले थप अनुसन्धान जारी रहेको जनाएको छ ।