गोरखाको दुवै निर्वाचन क्षेत्रबाट प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) ले पार्टी संरक्षक बाबुराम भट्टराईलाई उम्मेदवार सिफारिस गरेको छ ।
शनिबार बसेको प्रलोपाको जिल्ला समिति बैठकले भट्टराईलाई दुवै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो। उम्मेदवार सूचीमा भट्टराईको नाम दुवै क्षेत्रबाट पहिलो नम्बरमा राखिएको छ ।
क्षेत्र अनुसार सिफारिस
गोरखा–१: बाबुराम भट्टराई, शारदाप्रसाद धिताल, बाबुराम नेपाली, अर्जुन पन्त, साधुराम नेपाली
गोरखा–२: बाबुराम भट्टराई, बाबुराम श्रेष्ठ, परशुराम पोखरेल, सानु गुरुङ
प्रलोपाका जिल्ला इन्चार्ज यानप्रसाद भट्टका अनुसार, गोरखाका दुईमध्ये एक क्षेत्रबाट चुनाव लड्न सहजताका लागि भट्टराईको नाम दुवै क्षेत्रबाट सिफारिस गरिएको हो ।
केही दिनअघि कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रममा बोल्दै भट्टराईले भनेका थिए,
"अहिले नयाँ पुस्ता सक्रिय भएको छ, उनीहरुलाई नै अगाडि सार्नुपर्छ। म अब सक्रिय सत्ताको राजनीति गर्दिनँ। उम्मेदवारीमा त म नउठ्ने नै हो ।"
तर भट्टले भने,
"उहाँसँग भिजन छ, संसद्मा आफ्ना कुरा स्पष्ट राख्न सक्ने क्षमता छ र संसद्को अभिभावक बन्न सक्ने भएकाले चुनावमा उठ्न दबाब दिएका हौं ।"
त्यस्तै, समानुपातिक बन्दसूचीमा गोरखाबाट दिनेशबाबु जोशी, इन्दिरा बस्ताकोटी, महेश गुरुङ, नारायणी अधिकारी र लालबहादुर विकको नाम रहेको छ ।