राष्ट्रिय निजी तथा आवासीय विद्यालय संगठन (नेसनल प्याब्सन) वीरगञ्जको २८औँ स्थापना दिवसको अवसरमा आज वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
नेसनल प्याब्सन वीरगञ्जका अध्यक्ष जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा ६३ जना पुरुष र ७ जना महिला सहित ७० जनाले रक्तदान गरेका छन् । केन्द्रीय संस्थापक सदस्य तथा केन्द्रीय वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसिया प्रमुख अतिथिका भएको कार्यक्रमको समन्वय नेसनल प्याब्सन वीरगञ्जका सचिव शेख अजहर र कोषाध्यक्ष प्रमोद साहले गरेका थिए ।
कार्यक्रममा सनी दुबे, राकेश यादव, दीपक तुल्स्यान, शौकत अली, हरिन्द्र कुशवाहा, राजेन्द्र आचार्य, श्रीनारायण साह, सोनालाल पटेललगायत विभिन्न विद्यालयका निर्देशक तथा शिक्षाविद्हरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रामबिनय चौरसियाले नेसनल प्याब्सनले शिक्षा क्षेत्रसँगै समाजसेवामा पनि निरन्तर सक्रिय भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस्ता कार्यक्रमले मानव जीवन जोगाउन ठूलो योगदान पुर्याउने बताएका थिए ।
त्यस्तै कार्यक्रममा अध्यक्ष जियालाल गुप्ताले रक्तदानजस्तो पवित्र कार्यमा सहभागी सबै रक्तदाताहरू, सहयोगी संस्था तथा स्वयंसेवकहरूलाई धन्यवाद ज्ञापन गरेका थिए ।