बाराको जीतपुर बजार क्षेत्रमा विद्युतीय स्क्यानर प्रयोग गरी ठगी गर्दै आएका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय जीतपुरका अनुसार ती व्यक्तिहरू कृष्ण मोबाइल सेन्टरमा स्क्यानरमार्फत रकम ठगी गर्ने प्रयास गरिरहेका बेला उनीहरूको गतिविधि शंकास्पद देखिएपछि स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको हो ।
पसल सञ्चालकले उनीहरूको व्यवहार अस्वाभाविक देखिएपछि तत्काल प्रहरीलाई जानकारी गराएका थिए । प्रहरी टोली घटनास्थलमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
यसैबीच, जीतपुर बजारका अन्य विभिन्न पसलहरूमा पनि उनीहरूले यसअघि यस्तै किसिमको ठगी गरेको आशंका व्यवसायीहरूले व्यक्त गरेका छन् । केही पसलधनीहरूले आफूहरू पनि विद्युतीय स्क्यानरमार्फत हुने ठगीको शिकार भएको दाबी गरेका छन् ।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको र यस प्रकरणसँग सम्बन्धित थप पीडितहरूको पहिचान गर्ने कार्यसमेत अघि बढाइएको ईलाका प्रहरी कार्यालयले जनाएको छ ।