परवानीपुर गाउँपालिकाको गाउँसभाको १७औँ अधिवेशन आज पालिकाको सभाहलमा सम्पन्न भएको छ ।
चालु आर्थिक वर्षको हिउँदे अधिवेशनका रूपमा आयोजित सो सभामा आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि हालसम्मको प्रगति विवरण प्रस्तुत गरिएको छ । परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मीको अध्यक्षतामा सम्पन्न गाउँसभामा चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरिनुका साथै स्वीकृत योजना तथा कार्यक्रमहरूमा आवश्यक संशोधनसमेत पारित गरिएको थियो ।
सभामा जनप्रतिनिधिहरूले उठाएका विभिन्न गुनासो तथा समस्याहरूको सम्बोधन अध्यक्ष कुर्मीले गरेका थिए । उनले वडा नम्बर १ देखि ५ सम्म विभिन्न भौतिक पूर्वाधार निर्माणसँगै स्वास्थ्य, शिक्षा, कृषि, दलित तथा सामाजिक क्षेत्रहरूमा महत्वपूर्ण प्रगति भएको उल्लेख गर्दै समृद्ध परवानीपुर गाउँपालिका निर्माणका लागि वडाध्यक्ष, वडासदस्यलगायत सबैको भूमिका महत्वपूर्ण रहेको बताएका थिए ।
निर्वाचित भएदेखि गाउँपालिकाको विकासका लागि जनप्रतिनिधि, संघ–संस्था र समुदायको सहयोग प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष कुर्मीले आगामी दिनमा अझ प्रभावकारी कामका लागि निरन्तर सहकार्यको अपेक्षा व्यक्त गरे । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले स्वागत मन्तव्य दिँदै चालु आर्थिक वर्षमा हालसम्म सम्पन्न भएका योजना तथा कार्यक्रमको प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।
सभामा गाउँपालिकाभित्रका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, पत्रकार र सुरक्षाकर्मीहरूको उपस्थिति रहेको थियो ।
यसै अवसरमा आर्थिक वर्ष २०८१/०८२ मा सबैभन्दा ठूलो करदाता रहेका ओसिबी फुड्स एण्ड फिड्स प्रा.लि.का सञ्चालक सुरेश रुंगटाले ९ लाख ६० हजार रुपैयाँ र जय श्री हेल्थ केयर प्रा.लि.ले ६ लाख रुपैयाँ समयमै कर बुझाएकाले गाउँपालिकाको तर्फबाट दोसल्ला ओढाई सम्मानपत्रसहित सम्मान गरिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०८१/०८२ मा १४ लाख १० हजार रुपैयाँ कर संकलनमा महत्वपूर्ण भूमिका खेलेको भन्दै परवानीपुर गाउँपालिका वडा नं. ५ बहुअरी कार्यालयका वडाध्यक्ष रामेश्वर साह कलवारलाई पनि गाउँपालिकाले दोसल्ला ओढाई सम्मान गरेको थियो ।