मुस्ताङस्थित कोरला नाकाबाट नेपालतर्फ भित्रिएको ठूलो परिमाणको अवैध विद्युतीय चुरोट (भेप) बरामद गरिएको छ । नेपाल–चीन सीमाबाट नेपाल प्रवेश गरेको भेप बोकेको एक कन्टेनरलाई नियन्त्रणमा लिइएको जिल्ला प्रशासन कार्यालय मुस्ताङले जनाएको छ ।
प्रशासनका अनुसार उपल्लो मुस्ताङ क्षेत्रमा कोरला नाकाबाट करिब १४ किलोमिटर नेपालतर्फ प्रवेश गरेको उक्त कन्टेनरबाट १६ हजारभन्दा बढी थान भेप बरामद गरिएको हो ।
‘ना ६ ख ७५९१ नम्बरको कन्टेनरमा १६ हजार थानभन्दा बढी भेप फेला परेको छ,’ जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ, ‘अहिले मुचुल्का गर्ने प्रक्रिया भइरहेको छ ।’
भेप तस्करीको सूचनाका आधारमा जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले संयुक्त रूपमा सञ्चालन गरेको अपरेसनका क्रममा उक्त कन्टेनर नियन्त्रणमा लिइएको हो ।
जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोष बस्यालले पनि भेपसहितको कन्टेनर बरामद भएको पुष्टि गर्दै अहिले मुचुल्का प्रक्रिया जारी रहेको जानकारी दिए । ‘संयुक्त अपरेसनमार्फत १६ हजारभन्दा बढी भेपसहितको कन्टेनर बरामद गरिएको छ,’ उनले भने, ‘हाल आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइँदै छ ।’