सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१० जिरोमाईल चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति इलाका प्रहरी कार्यालय धनगढी तथा लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले बरियारपट्टीबाट जिरोमाईलतर्फ आउँदै गरेको प्रदेश १–०२–०४ प ३५३७ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उनीहरूलाई ३८ ग्राम खैरो हेरोइन जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका–३ निवासी २५ वर्षीय अभिषेक साह र सिन्धुली जिल्लाको दुधौली नगरपालिका–९ टारी निवासी ३२ वर्षीय एलेक्स आले रहेका छन् ।
पक्राउ परेका दुवै जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। लागूऔषध कारोबारमा संलग्न अन्य व्यक्तिहरूको खोजी तथा घटनाको थप अनुसन्धान जारी रहेको बताइएको छ ।