खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जले यस वर्ष बाँके जिल्लामा २० हजार क्विन्टल धान खरिद गरेपछि कोटा पूरा भएको भन्दै खरिद प्रक्रिया बन्द गरेको छ ।
निर्धारित कोटा २० हजार क्विन्टल रहेकोमा हालसम्म २० हजार २९४ दशमलव २० क्विन्टल धान खरिद भइसकेको कम्पनीले जनाएको छ । कोटा पूरा भएसँगै कम्पनीले थप खरिद नगरेपछि अधिकांश किसान धान सस्तो मूल्यमा बिक्री गर्न बाध्य भएका छन् ।
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार यस वर्ष जिल्लामा करिब १६ लाख क्विन्टल धान उत्पादन भएको छ । यति ठूलो उत्पादन भएको जिल्लामा २० हजार क्विन्टल मात्र धान खरिद गरेर सरकारले किसानलाई समस्यामा पारेको स्थानीय किसानहरूको गुनासो छ ।
जानकी गाउँपालिका–२ भैयापुरका किसान गोरख सुनारका अनुसार, आफूले धान बिक्रीका लागि टोकन पाए पनि कोटा पूरा भएको भन्दै फिर्ता पठाइएकाले बाध्य भएर बजारमा सस्तो मूल्यमा बिक्री गर्नुपरेको छ । उनका अनुसार यसले लागतसमेत नउठ्ने अवस्था सिर्जना भएको छ ।
त्यस्तै, डुडुवा गाउँपालिका–२ का किसान मोहन बर्माले सरकारले धान खरिद नगर्दा गल्ला व्यापारीले मनोमानी मूल्यमा धान खरिद गर्न थालेको बताए । उनका अनुसार पहिले प्रतिक्विन्टल २ हजार ५ सय रुपैयाँसम्म पाइने धान अहिले २ हजार रुपैयाँमै बिक्री गर्नुपरेको छ ।
नेपाल सरकारले मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको ३ हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ । तर गल्ला व्यापारीहरूले समर्थन मूल्यभन्दा करिब डेढ हजार रुपैयाँ कममा धान खरिद गरिरहेका छन्, जसले किसानलाई ठूलो घाटा बेहोर्नुपरेको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बाँकेका लागि निर्धारण गरिएको २० हजार क्विन्टल धान खरिदको कोटा पूरा भइसकेकाले खरिद बन्द गरिएको जानकारी दिए । उनका अनुसार यस वर्ष धान बिक्रीका लागि ७२१ जना किसानले स्थानीय तहको सिफारिससहित आवेदन दिएका थिए, जसमध्ये कोटा पूरा भएपछि ५३६ जना किसानसँग मात्र धान खरिद गरिएको हो ।