गुल्मीका किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपिभी) दिने तयारी अन्तिम चरणमा पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीले जिल्लास्तरीय खोप समन्वय समितिमार्फत जानकारी दिँदै तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । खोप माघ २४ गतेदेखि फागुन २ गतेसम्म सञ्चालन हुने छ ।
जिल्लाभरका विद्यालयमा कक्षा ६ मा अध्ययनरत किशोरीका लागि खोप दिइनेछ । विद्यालय नजाने किशोरीका लागि १० वर्ष उमेर समूह, गत वर्ष छुटेका कक्षा ७–१० का किशोरी, र विद्यालय नजाने ११–१४ वर्षसम्मका किशोरीलाई पनि खोप उपलब्ध गराइनेछ । यस वर्ष जिल्लाभर २ हजार ४ सय ६५ किशोरीलाई खोप दिने तयारी गरिएको छ ।
गत वर्ष खोप अभियानको रूपमा लगाइएको थियो भने यस वर्षदेखि नियमित रूपमा प्रदान गरिनेछ । आगामी वर्ष फागुनमा पनि यस खोप नियमित रूपमा उपलब्ध गराइने स्वास्थ्य कार्यालयले जनाएको छ । सबै विद्यालयमा खोप उपलब्ध गराइनेछ र छुटेका किशोरीलाई नजिकको स्वास्थ्य संस्थामार्फत खोप दिइने व्यवस्था गरिएको छ ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख तथा जिल्लास्तरीय खोप समन्वय समितिका संयोजक द्रोणबहादुर खत्रीले लक्षित समूहलाई गुणस्तरीय, सुरक्षित र भरपर्दो माध्यमबाट खोप उपलब्ध गराउन आग्रह गरे । उनले भने, “लक्षित समूहका सबैले खोप पाउनैपर्छ । यसमा सबै स्वास्थ्यकर्मीले गुणस्तरीय र सुरक्षित खोप सम्बन्धित समूहमा पुर्याउनुपर्छ ।”