काठमाडौँको बौद्धस्थित रिन्जी लामाको घरबाट करिब एक करोड चार लाख ५३ हजार रुपैयाँ बराबरका सुनका गहना चोरी गरी फरार भएका अभियुक्तलाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ ।
प्रहरीले गएराति नागार्जुन नगरपालिका–६ क्षेत्रबाट बाँकेका प्रेम चौधरीलाई नियन्त्रणमा लिएको हो । पक्राउका क्रममा अभियुक्तका साथबाट ६५ तोला सुन बरामद गरिएको प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले जानकारी दिए ।
उनका अनुसार पक्राउ गर्ने क्रममा अभियुक्तले प्रहरीमाथि खुकुरी प्रहार गरेपछि आत्मरक्षाका लागि बाध्य भएर प्रहरीले गोली चलाएको हो । गोली अभियुक्तको खुट्टामा लागेको छ ।
हाल घाइते अभियुक्तको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । घटनाका क्रममा एक जना प्रहरी पनि घाइते भएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।