झापा क्षेत्र नम्बर ५ अन्तर्गत कमल गाउँपालिका–२ मा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सम्पर्क कार्यालयमा गएराति तोडफोड भएको छ ।
अज्ञात समूहले कार्यालयलाई लक्षित गरी ढुंगामुढा प्रहार गरेको प्रहरीले जनाएको छ । यस घटनामा कार्यालयका झ्यालका सिसाहरू फुटेका छन् । उक्त कार्यालय हालै रास्वपाका वरिष्ठ नेता तथा झापा–५ का उम्मेदवार बालेन्द्र शाह (बालेन) को चुनावी प्रचार, प्रसार र भेटघाटका लागि सञ्चालनमा ल्याइएको थियो ।
झापा–५ निर्वाचन क्षेत्र एमाले अध्यक्ष केपी शर्मा ओली र बालेन शाहबीच कडा प्रतिस्पर्धा हुने भएकाले संवेदनशील क्षेत्र मानिन्छ ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार तोडफोडमा संलग्न व्यक्तिहरूको पहिचान हुन बाँकी छ र घटनाबारे थप अनुसन्धान भइरहेको छ ।