बैतडीको पुर्चौडी नगरपालिका–७ भौनीबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको जन्ती बोकेको बस दुर्घटनामा परी घाइते भएका २३ जनाको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।
बिहीबार राति नै दुर्घटनामा घाइते भएका ३५ जनालाई उपचारका लागि डडेलधुरा अस्पताल ल्याइएको थियो । अस्पतालमा उपचार सुरु हुनुअघि नै पाँच जनाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी टंक पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार सात जना घाइतेलाई थप उपचारका लागि अन्यत्र रेफर गरिएको छ भने २३ जनाको अस्पतालको इमर्जेन्सी कक्षमा उपचार भइरहेको छ । उपचाररत घाइतेहरूको अवस्था सामान्यदेखि मध्यम रहेको र सबै खतरामुक्त रहेको पन्तले बताउनुभयो ।
जन्ती बोकेको पवनदूत यातायातको सुप प्र ०२–००१ ख १११९ नम्बरको बस दुर्घटनामा परेको हो। यस दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो । दुर्घटनामा घाइतेमध्ये पुर्चौडी नगरपालिकाकी चन्द्रा अवस्थीले आफू गाडीको क्याबिनमा बसेको बताइन् । उनका अनुसार मोडमा गाडी नघुमेर माथि ठोक्किँदा दुर्घटना भएको हो ।
‘ड्राइभरले ओट लगाउन भनेपछि यात्रुहरूले ढुंगा खोज्ने क्रममा गाडी दुर्घटना भयो,’ उनले भनिन् । जन्ती हिँडेको करिब १५–२० मिनेटमै दुर्घटना भएको उनको भनाइ छ । अवस्थी स्वास्थ्य स्वयंसेविका समेत हुन् ।
यस्तै, दुर्घटनामा घाइते भएका बझाङको बित्थडचिर गाउँपालिकाका शंकरदत्त जोशीका अनुसार भिरालो सडक र उकालोमा घुम्ने पर्याप्त ठाउँ नहुँदा गाडी ब्याक भएर दुर्घटना भएको हो । दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीले तत्काल उद्धार गरी घाइतेहरूलाई अस्पताल पुर्याएका थिए ।