पर्साको वीरगन्जमा मोटरसाइकल पार्किङको विषयलाई लिएर भएको विवादले एक जनाको ज्यान गएको छ ।
वीरगन्ज महानगरपालिका–१३ मा शुक्रबार बिहान भएको झडपमा स्थानीय केपीचन्द राउतको मृत्यु भएको पर्सा प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार राउतले आफ्नो घर अगाडि मोटरसाइकल पार्क नगर्न आग्रह गरेपछि विवाद सुरु भएको थियो । विवाद चर्किँदै जाँदा धकेलाधकेलको अवस्था सिर्जना भएको पर्सा जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिनुभयो ।
सो क्रममा गम्भीर घाइते भएका राउतलाई उपचारका लागि अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको हो ।
प्रहरीका अनुसार वीरगन्ज महानगरपालिका–२३ प्रसौनी निवासी अर्जुन यादवले राउतको घर अगाडि जबरजस्ती मोटरसाइकल पार्क गर्न खोजेपछि विवाद उत्पन्न भएको थियो । सोही झगडामा राउत घाइते भएका थिए ।
घटनामा संलग्न रहेको आरोपमा अर्जुन यादवलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनाबारे थप अनुसन्धान सुरु गरिएको र मृत्युको वास्तविक कारणबारे सूक्ष्म छानबिन भइरहेको प्रहरीले जनाएको छ ।