आन्तरिक राजश्व कार्यालय बागलुङले आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिकमा वार्षिक लक्ष्यको ३१ प्रतिशत मात्र कर संकलन गरेको जनाएको छ ।
आर्थिक वर्षभरि कुल १ अर्ब ४३ करोड ३४ लाख रुपैयाँ कर संकलन गर्ने लक्ष्य राखिएकोमा पुससम्म ४४ करोड ८ लाख ७५ हजार रुपैयाँ मात्र संकलन भएको हो । यो कुल लक्ष्यको ३० दशमलव ७५ प्रतिशत रहेको छ । पुस महिनामा मात्र १३ करोड ५३ लाख राजश्व संकलन भएको प्रमुख कर अधिकृत कपिल सिलवालले जानकारी दिए ।
आयकर तर्फ पहिलो ६ महिनामा २४ करोड ३० लाख ५८ हजार, बहाल कर तर्फ ३९ लाख, व्याज कर तर्फ ४ करोड ५८ लाख ९० हजार, मूल्य अभिवृद्धि कर तर्फ १० करोड ६८ लाख ३९ हजार, अन्तशुल्क तर्फ ३ करोड ६७ लाख १३ हजार र स्वास्थ्य कर तर्फ ४४ लाख ८० हजार रुपैयाँ संकलन भएको छ ।
सूचना अधिकारी राजनमणी शर्माका अनुसार पछिल्लो समय ठूलो कारोबार गर्ने सहकारीले बागलुङमा तिर्दै आएको कर पोखरास्थित ठूला करदाता कार्यालयमा तिर्न थालेका कारण कर संकलनमा कमी देखिएको हो ।
गत आर्थिक वर्ष २०८१/०८२ मा बागलुङमा १ अर्ब ७ करोड ६६ लाख रुपैयाँ कर संकलन भएको थियो । संकलनको प्रमुख स्रोत आयकर रहेको छ । गत वर्ष मात्र आयकरबाट ६० करोड १० लाख, व्याज करबाट १० करोड ४१ लाख, भ्याटबाट २९ करोड ७४ लाख, अन्तशुल्कबाट ५ करोड ८५ लाख, बहाल करबाट १ करोड ५३ लाख र शैक्षिक करबाट ५ करोड ८५ लाख संकलन भएको थियो ।
पछिल्ला वर्षमा व्यवसायिक प्यान र अन्तशुल्क बढेसँगै कर संकलनमा सुधार देखिएको छ। हाल बागलुङमा करदाता संख्या २५ हजार पुगेको छ ।
चालु आर्थिक वर्षको पुसदेखि छिमेकी पर्वत जिल्लामा रहेको करदाता सेवा कार्यालय बन्द भएको छ । यस कार्यालयले गर्ने अधिकांश काम कोष तथा लेखा नियन्त्रण कार्यालयमा सरेको छ भने केही अत्यावश्यक काम आन्तरिक राजश्व कार्यालय बागलुङबाट हुनेछन् ।