पूर्वी नवलपरासीमा रहेका संवेदनशील तथा अति संवेदनशील मतदानस्थलमा जिल्ला सुरक्षा समितिका सदस्यले स्थलगत निरीक्षण गरेका छन् ।
प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेको नेतृत्वमा सहायक प्रमुख जिल्ला अधिकारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरूले मतदानस्थलको निरीक्षण गरेका हुन् ।
निरीक्षणको क्रममा निर्वाचनको समयमा आउन सक्ने सम्भावित चुनौती, मतपेटिका र मतपत्र ढुवानीका लागि भौगोलिक अवस्थिति तथा सुरक्षा व्यवस्थाका विषयमा स्थानीयसँग छलफल गरिएको छ ।
मध्यबिन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा विगतमा समस्या देखिएका मैनाघाट, मथारलगायतका क्षेत्रका संवेदनशील मतदानस्थल निरीक्षण गरिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेका अनुसार स्थानीयसँग छलफल गरी चुनावमा ढुक्क भएर सहभागी हुन सुरक्षा व्यवस्थाको समीक्षा गरिएको हो ।
पूर्वी नवलपरासीमा १ सय १४ वटा मतदानस्थलमध्ये ११ वटा अति संवेदनशील र ५० वटा संवेदनशीलमा राखिएको छ । जिल्लामा दुई वटा निर्वाचन क्षेत्र रहेको र कुल २ लाख ६८ हजार ५ सय २६ मतदाता रहेका छन् ।