जिल्ला प्रहरी कार्यालयले वीरगन्जको अवैध गोदाममा छापा मार्ने क्रममा सशस्त्र प्रहरीमाथि आक्रमण गर्ने चार जनालाई पक्राउ गरेको छ ।
वीरगन्ज भन्सार कार्यालय र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले सोमबार वीरगन्ज महानगरपालिका–१० आदर्शनगरस्थित अवैध गोदाममा छापा मारेको थियो । उक्त क्रममा स्थानीय व्यापारी समूहको आक्रमणबाट तीन जना सशस्त्र प्रहरी घाइते भएका थिए भने दुईवटा सवारीसाधनमा क्षति पुगेको थियो ।
पर्सा प्रहरीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार आक्रमणमा संलग्न चार जनालाई सोमबार रातिसम्म पक्राउ गरिएको हो । उहाँले सिसीटिभी फुटेजको आधारमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
“सशस्त्र प्रहरीमाथि आक्रमण गर्नेहरूको पहिचान भइसकेको छ । घटनाबारे आवश्यक अनुसन्धान जारी रहेकाले संलग्नहरूको नाम पछि सार्वजनिक गरिनेछ,” उहाँले भन्नुभयो ।
संयुक्त टोलीले भन्सार छली गरेर सामान भित्र्याइएको आशङ्कामा आदर्शनगरस्थित मदनप्रसाद गुप्ताको घरमा अवैध रूपमा गोदाम गरी राखिएको कपडा बरामद गर्ने क्रममा झडप भएको जनाएको छ ।
सशस्त्र प्रहरीले उक्त स्थानबाट करिब १२ लाख ५० हजार रुपैयाँ बराबरका कपडा तथा अन्य सामग्री बरामद गरेको जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।