रामेछापको मन्थली नगरपालिका–६ भलुवाजोरस्थित त्रिवेणी नजिक पर्ने लिलौटी क्षेत्रमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ ।
काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको प्रदेश ०३–०१–००५ ख १९७५ नम्बरको अरनिको यातायातको बस मंगलबार बिहान करिब ११ बजे सडकबाट अनियन्त्रित भई सिधै तामाकोशी नदीमा खसेको हो ।
दुर्घटनापछि स्थानीय बासिन्दा, सुरक्षाकर्मी तथा उद्धार टोलीको सहयोगमा घाइतेहरूको उद्धार कार्य तीव्र रूपमा भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजनप्रसाद तिम्सिनाका अनुसार हालसम्म तामाकोशी नदीमा डुबेको बसबाट ९ जनाको शव निकालिएको छ ।
दुर्घटनामा घाइते भएका १० जनाभन्दा बढीलाई उद्धार गरी उपचारका लागि नजिकका अस्पतालहरूमा पठाइएको छ । नदीमा डुबेको बसबाट अन्य यात्रुहरूलाई निकाल्ने प्रयास अझै जारी रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।