रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १२ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी (सीडीओ) श्यामकृष्ण थापाले मृतकको संख्या १२ पुगेको जानकारी दिएका छन् ।
सीडीओ थापाका अनुसार दुर्घटनास्थलमा खोजी गर्दा थप ६ वटा शव फेला परेपछि मृतकको संख्या १२ पुगेको हो । यसअघि ६ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको थियो ।
काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बागमती प्रदेश ०१–००५ ख ९९७५ नम्बरको बस आज बिहान रामेछापको मचानेटार भन्ने स्थानमा दुर्घटनाग्रस्त भई तामाकोशी नदीमा खसेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका ८ जनामध्ये ७ जनालाई उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ भने एक जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
अरनिको यातायात समितिका अनुसार जडीबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले टिकट काटेका थिए । बाटोबाट अन्य यात्रु चढेको–नचढेको विषयमा यकिन हुन बाँकी रहेको छ ।
बस सडकबाट खसेर नदीमा डुबेको अवस्थामा फेला परेको थियो । हाल सशस्त्र प्रहरीको गोताखोर टोलीले खोजी तथा उद्धार कार्य निरन्तर जारी राखेको सीडीओ थापाले बताएका छन् ।