मधेस प्रदेशमा यस वर्ष पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप अभियानअन्तर्गत ९६ हजार ७७६ जना किशोरीलाई खोप लगाइने भएको छ ।
खोप अभियान प्रदेशका आठवटै जिल्लामा माघ २५ गतेदेखि फागुन १५ गतेसम्म सञ्चालन हुनेछ । अभियानअन्तर्गत कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय नजाने १० वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरिएको मधेस स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार प्रदेशभर एक हजार ४९६ सामुदायिक र एक हजार २२८ संस्थागत गरी कुल दुई हजार ७२४ विद्यालयका कक्षा ६ मा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका किशोरीलाई खोप लगाइनेछ । यसमध्ये विद्यालय जाने ६९ हजार ६६८ र विद्यालय बाहिरका २७ हजार १०८ किशोरीलाई खोप दिने लक्ष्य राखिएको छ ।
मधेस स्वास्थ्य निर्देशनालयका खोप अधिकृत लक्ष्मेश्वर झाले स्थानीय तहका स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरी अभियानमा परिचालन गरिएको जानकारी दिए ।
उनले भने, “पाठेघरको मुखको क्यान्सरबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको खोप हो । समयमा रोगको पहिचान र उपचार नहुँदा महिलाले ज्यान गुमाउने घटना दोहोरिन नदिन लक्षित समूहका सबै किशोरीलाई खोपको पहुँचमा ल्याउनु हाम्रो मुख्य लक्ष्य हो ।”
विद्यालय बाहिरका किशोरीलाई खोप लगाउँदा परिचय खुल्ने कार्ड अनिवार्य गरिएको छ भने विद्यालय जाने किशोरीलाई विद्यालयको अभिलेखका आधारमा खोप दिइनेछ ।
कुन जिल्लामा कति किशोरी ?
निर्देशनालयका अनुसार जिल्लागत रूपमा खोप पाउने किशोरीको संख्या यसप्रकार छः
रौतहटः १७,३१९ जना
धनुषाः १६,९१५ जना
महोत्तरीः ११,७३७ जना
सिरहाः ११,११९ जना
सर्लाहीः ११,११९ जना
सप्तरीः ९,७८९ जना
पर्साः ९,७३२ जना
बाराः ९,०४६ जना
सबैभन्दा बढी रौतहट जिल्लामा खोप अभियान सञ्चालन गरिनेछ ।
तीन हजारभन्दा बढी खोप केन्द्र
खोप अभियानका क्रममा विद्यालय जाने किशोरीका लागि विद्यालयमै खोप केन्द्र स्थापना गरिनेछ भने विद्यालय बाहिरका किशोरीका लागि पायक पर्ने विद्यालय वा अन्य स्थानमा केन्द्र तोकिएको छ ।
यसका लागि प्रदेशभर तीन हजार ३०४ वटा खोप केन्द्र स्थापना गरिएको छ । तीमध्ये दुई हजार १०१ वटा नियमित स्वास्थ्य संस्थामा रहेका छन् भने दुई हजार १४८ वटा बाह्य खोप केन्द्रमार्फत पनि सेवा प्रदान गरिनेछ ।
जिल्लागत रूपमा खोप केन्द्रको संख्या यसप्रकार छः
पर्साः ३३०
बाराः ३४६
रौतहटः ३०१
सर्लाहीः ५६६
महोत्तरीः ४७६
धनुषाः ४०९
सिरहाः ५६६
सप्तरीः ३१०
तीन हजारभन्दा बढी खोपकर्ता परिचालन
अभियान सफल बनाउन प्रत्येक खोप केन्द्रमा एक जना खोपकर्ता परिचालन गरिनेछ । यसअनुसार प्रदेशभर तीन हजार ३०४ जना खोपकर्ता खटाइनेछन् ।
त्यसैगरी कार्यदिनअनुसार स्वयंसेवक (भ्याक्सिनेटर) पनि प्रत्येक केन्द्रमा परिचालन गरिने खोप अधिकृत झाले जानकारी दिए ।