जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी सहायक निरीक्षक विजयकुमार महतोलाई माघ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरेको छ ।
हाल इलाका प्रहरी कार्यालय सिमरा अन्तर्गत महिला, बालबालिका सेवा केन्द्रमा दरबन्दी भई जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत महतोले अपराध अनुसन्धानमा उल्लेखनीय भूमिका खेलेपछि बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवरले उनलाई पुरस्कृत गर्दै उत्कृष्ट प्रहरी घोषणा गरेका हुन् ।
माघ १४ गते बिहान करिब २ बजे परवानीपुर गाउँपालिका–९ रहरियाडिहस्थित करिब ५० वर्षीय जगरुप मण्डलको घरमा अपरिचित व्यक्तिले घरभित्र प्रवेश गरी ५ जनामाथि चक्कु प्रहार गर्दा २ जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
उक्त जघन्य घटनामा संलग्न मुख्य अभियुक्तहरूलाई पक्राउ गर्न असई महतोले सक्रिय भूमिका निर्वाह गरेका थिए । घटनामा संलग्न परवानीपुर गाउँपालिका–१ निवासी मृतक रामईश्वर मण्डलकी २३ वर्षीया श्रीमती मनिता देवी मण्डल तथा मुख्य फरार अभियुक्त वडा नं. ७ निवासी २७ वर्षीय धर्मेन्द्र महतो धानुकलाई घटना भएको करिब ८ घण्टाभित्रै खोजतलास गरी पक्राउ गर्न उनले महत्वपूर्ण भूमिका निभाएका थिए ।
एसपी कुँवरका अनुसार प्रहरी सहायक निरीक्षक महतोले अनुसन्धान कार्यमा आफ्नो जिम्मेवारी अत्यन्त इमान्दारीपूर्वक र उत्कृष्ट ढंगले पूरा गरेका छन् । विभागीय नीति–निर्देशनको पूर्ण पालना गर्दै गरेको उनको कार्यलाई सम्मान स्वरूप माघ महिनाको “बेस्ट पुलिस अफ द मन्थ” घोषणा गरिएको हो ।
उहाँले यो सम्मानले अन्य प्रहरी कर्मचारीहरूमा पनि सकारात्मक प्रभाव पार्दै कार्यदक्षता अझ प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।