रसुवाको उच्च हिमाली क्षेत्रमा महाशिवरात्रि पर्वको अवसरमा पवित्र तीर्थस्थल गोसाइँकुण्ड जाने धार्मिक यात्रु प्रतिकूल मौसमका कारण प्रभावित भएका छन् । स्थानीय मौसम प्रतिकूल भएपछि लौरिविनायकदेखि कुण्ड क्षेत्रसम्म बाक्लो कुहिरो लागेको र हवाईसेवा अवरुद्ध हुँदा तीर्थयात्रुहरूको आवागमनमा समस्या आएको हो ।
स्थानीय व्यवसायीका अनुसार अचानक मौसम बिग्रिएपछि कुण्ड जाँदै गरेका तीनवटा हेलिकप्टर चन्दनबारीको आकाशबाटै फर्किएका थिए । प्रभु एयर र अल्टिच्युट एयरका उडान अवरुद्ध भई यात्रुहरू सुरक्षित रूपमा काठमाडौँ फर्काइएका छन् ।
हेलिकप्टर कम्पनीको विवरण अनुसार प्रतिकूल मौसमका कारण ५० भन्दा बढी तीर्थयात्रु प्रभावित भएका छन् । तीर्थयात्रु बोकेर उडान भर्ने कम्पनीहरूमा सिम्रिक एयर, फिस्टेल एयर, अन्नपूर्ण एयर र मुस्ताङ एयरसमेत रहेका थिए । केही कम्पनीका हेलिकप्टर तेस्रो उडानपछि मात्रै बिहान ११ बजेपछि रोकिएका थिए भने अन्यले बिहानै सामान्य रूपमा उडान सञ्चालन गरेका थिए ।
गोसाइँकुण्डको जलनिकास नजिक सिम्रिक एयरले निर्माण गरेको शिव मन्दिरमा कम्पनीकै तर्फबाट शास्त्रीय विधिपूर्वक पूजा–आराधना सम्पन्न गरिएको थियो । कम्पनीका कार्यकारी निर्देशक विष्णु बस्नेतको अगुवाइमा पुरोहित ऋषिकेश भट्टराईसहितको टोलीले कुण्ड र मन्दिर परिसरमा विशेष पूजा सम्पन्न गरेका छन् ।
धार्मिक विश्वास अनुसार पवित्र कुण्डमा स्नान गरी भगवान शिवको पूजा गर्दा रोगव्याध हट्ने, सुख–शान्ति प्राप्त हुने र मनोकामना पूरा हुने जनविश्वास रहेको छ ।