प्रमोद यादव माथि गोली प्रहार गरी हत्या गरिएको छ । सर्लाही को पूर्वाधार विकास कार्यालयमा कार्यरत सब इञ्जिनीयर यादवमाथि आइतबार साँझ करिब ८ बजे गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाही का अनुसार मलंगवा नगरपालिका–१० अदालत नजिक डेरा लिएर बस्दै आएका यादवमाथि डेराको बरण्डामै गोली प्रहार गरिएको थियो। गोली लागेर गम्भीर घाइते भएका उनलाई मलंगवा स्थित प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाबारे जानकारी दिँदै प्रवक्ता समेत रहेका सरोज राई ले घटनाको अनुसन्धान तीव्र रूपमा भइरहेको बताएका छन् । साथै सदरमुकाम क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलमा आएका अपरिचित हतियारधारी समूहले यादवमाथि गोली प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । गोली यादवको बायाँ छातीमा मुटुको तल नजिक लागेको थियो ।
सिराहा जिल्लाको सुखीपुर घर भएका यादव करिब एक वर्षदेखि पूर्वाधार विकास कार्यालय मलंगवामा कार्यरत थिए । उनको दुई वर्षकी छोरी रहेको बताइएको छ ।
प्रहरीका अनुसार आक्रमणकारी को थिए, कति जना थिए, र कुन सवारी साधन प्रयोग गरिएको थियो भन्ने विषय अझै खुल्न सकेको छैन । घटनापछि सो क्षेत्र त्रासपूर्ण बनेको छ भने प्रहरीले विभिन्न स्थानमा खोजी अभियान तीव्र पारेको जनाएको छ ।