बाराको कलैया उपमहानगरपालिका–१६ उत्तर झिट्कैयास्थित पिलुवा–कलैया सडक खण्डमा गए राति करिब ८:१५ बजे भएको सवारी दुर्घटनामा एक युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
प्रदेश २-०३-००१ त ३८६ नम्बरको उखु लोड गरिएको ट्याक्टर र प्रदेश २-०२-०२२ प ५१४० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते मोटरसाइकल चालक, कलैया–१२ बस्ने २५ वर्षीय उपेन्द्र मण्डल, प्रादेशिक अस्पताल कलैयामा पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
मोटरसाइकलमा सवार अन्य दुई जना, कलैया–१२ का २३ वर्षीय करण चौरसिया र २५ वर्षीय सावन कुमार यादव, गम्भीर घाइते भएका छन् । उनीहरूलाई प्रादेशिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि वीरगन्जस्थित एस न्युरो अस्पताल पठाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराले दुर्घटनामा संलग्न दुवै सवारी साधन र ट्याक्टर चालकलाई नियन्त्रणमा लिएको छ । मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामै राखिएको छ । प्रहरी घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।