मकवानपुरस्थित भीमफेदी कारागार तोडेर फरार भएका एक जना कैदीलाई जिल्ला प्रहरी कार्यालय बारा ले पुनः पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा प्रसौनी गाउँपालिका वडा नं. १ निवासी २६ वर्षीय विशाल मुखिया रहेका छन् । मुखियालाई मकवानपुर जिल्ला अदालत ले किर्ते तथा डाँका मुद्दामा ५ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना फैसला सुनाएको थियो । उक्त सजाय भुक्तानका लागि कारागारमा रहेका मुखिया जेनजी आन्दोलनका क्रममा भदौ २४ गते कारागार तोडेर फरार भएका थिए ।
फरार रहेका मुखियाको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय प्रसौनी बाट खटिएको प्रहरी टोलीले उनलाई पुनः पक्राउ गरेको हो । फागुन ४ गते प्रसौनी गाउँपालिका–१ स्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गर्दै गरेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिएका छन् ।
पक्राउ परेका मुखियामाथि बारा जिल्ला अदालतबाट चोरी मुद्दामा ७ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।