मधेस प्रदेशका आठ जिल्लामा तोकिएका २ हजार १ सय ६० मतदानस्थलमध्ये झन्डै १ हजार २ सय ३६ मतदानस्थल अति संवेदनशील मानिएको छ । भारतसँग ३ सय ६७ किलोमिटर सिमाना रहेको यस प्रदेशमा ४ हजार ४ सय ७१ मतदान केन्द्र र २ हजार १ सय ६० मतदानस्थल रहेका छन् । जिल्ला सुरक्षा समितिको सिफारिस अनुसार निर्वाचन आयोगले ७ सय ६३ मतदानस्थललाई संवेदनशील र २ हजार ४ सय ७१ वटालाई सामान्य वर्गीकरण गरेको मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
सबैभन्दा बढी सप्तरीका मतदान केन्द्र अति संवेदनशील सूचीमा छन् । सप्तरीमा २ सय ९, सिरहामा १५४, धनुषामा १९४, महोत्तरीमा १६३, सर्लाहीमा १५८, रौतहटमा १५२, बारामा १४५ र पर्सामा ६२ मतदानस्थल अति संवेदनशील रहेको कार्यालयले जनाएको छ । मधेस प्रदेशका आठ जिल्लाका ३२ निर्वाचन क्षेत्रमा करिब ३५ लाख १७ हजार मतदाता रहेका छन् । प्रत्येक निर्वाचन क्षेत्रमा एकदेखि दुई लाखसम्म मतदाता पर्न गएको छ ।
विगतका निर्वाचनमा भएका बुथ कब्जा, झडप र राजनीतिक विवादका घटना, नेपाल–भारतबीचको खुला सिमाना र जेन–जी आन्दोलनपछिको सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै मतदानस्थललाई सामान्य, संवेदनशील र अति संवेदनशीलमा वर्गीकरण गरिएको हो । जेन–जी आन्दोलनपछि सिर्जित सुरक्षा अवस्था यस चुनावको सबैभन्दा ठूलो चुनौती बनेको छ । २४ भदौमा लुटिएका हतियार र फरार कैदीहरू अधिकांश अझै नियन्त्रणमा आएका छैनन्, जसले निर्वाचनको समयमा बुथ कब्जा गर्न वा विपक्षीलाई धम्क्याउन सक्ने जोखिम बढाएको छ ।
यसपालि मधेसमा शीर्ष नेताहरू र नयाँ तथा ठूला राजनीतिक दलबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । कांग्रेस सभापति गगनकुमार थापा सर्लाही–४ बाट उम्मेदवार छन् भने रास्वपाका अमरेशकुमार सिंह त्यही क्षेत्रबाट चुनावी मैदानमा छन् । सर्लाही–२ मा नेपाली राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो, नेकपा नेता महेन्द्र राय यादव; सर्लाही–३ मा नेकपा नेता नारायणकाजी श्रेष्ठ; सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत; धनुषा–३ मा कांग्रेस नेता बिमलेन्द्र निधि; महोत्तरी–१ मा नेकपा नेता गिरिराजमणि पोख्रेल, महोत्तरी–२ मा जसपाका शरतसिंह भण्डारी उम्मेदवार छन् ।
रौतहट–१ मा नेकपाका सहसंयोजक माधवकुमार नेपाल, रौतहट–३ मा आजपाका अध्यक्ष प्रभु साह, बारा–३ मा कांग्रेस नेता फरमुल्लाह मन्सुर उम्मेदवार छन् । सुरक्षा अधिकारीहरूको आकलन अनुसार यी उम्मेदवारहरूसित प्रतिस्पर्धामा रहेका नयाँ/पुराना उम्मेदवारबीचको ‘इगो’ले झडप निम्त्याउन सक्ने जोखिम छ ।
कांग्रेसका निवर्तमान सांसद एवं रौतहट–४ का उम्मेदवार देवप्रसाद तिमल्सिनाले जेन–जी आन्दोलनका फरार अपराधी र लुटिएका हतियार निर्वाचनमा प्रयोग हुन सक्ने बताउँदै चेतावनी दिए । अहिले सबै निर्वाचन क्षेत्रमा सुरक्षा निकायको संयुक्त गस्ती भइरहेको छ । अति संवेदनशील मतदानस्थलमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ । सेना, प्रहरी, सशस्त्र प्रहरी, अनुसन्धान विभाग र निर्वाचन प्रहरी गरी पाँच वटै दस्तालाई निर्वाचन सुरक्षा जिम्मेवारीमा परिचालन गरिएको छ ।
सशस्त्र प्रहरी मधेस प्रदेश कार्यालय बर्दिबासका प्रमुख डीआईजी कृष्ण ढकालले खुला सिमानाको फाइदा उठाउँदै हतियार र अपराधी ओसारपसार नहोस् भनेर कडा जाँच सुरु गरिएको बताए । उनले भने, “निर्वाचनका बेला सुरक्षा व्यवस्थामा कुनै सम्झौता हुँदैन । सीमा क्षेत्रमा गस्ती र जाँच कडा बनाइएको छ ।”
पूर्वप्राध्यापक योगेन्द्र राय यादवले भने, “विगतको चुनावभन्दा यस पटक फरक अवस्था देखिएको छ । धाँधलीरहित र शान्ति–सुरक्षाबीच निर्वाचन सम्पन्न गराउनु अहिलेको मुख्य चुनौती हो ।”