वीरगन्ज महानगरपालिका ले लामखुट्टेको बढ्दो प्रकोप नियन्त्रण गर्न ‘पम्प स्प्रे’ मार्फत विषादी छर्ने अभियान सुरु गरेको छ ।
महानगरका मेयर राजेशमान सिंह ले लामखुट्टेको टोकाइबाट सर्ने डेंगु र मलेरिया जस्ता प्राणघातक रोगको संक्रमण फैलिन नदिन अभियान सञ्चालन गरिएको बताए । चिसो मौसम अन्त्य भई गर्मी सुरु भएसँगै लामखुट्टेको संख्या बढ्न थालेपछि नियन्त्रणात्मक उपायका रूपमा विषादी छर्ने कार्य अघि बढाइएको उनले स्पष्ट गरे ।
बिहीबारदेखि सुरु भएको विषादी छर्ने कार्य दोस्रो दिन घण्टाघरदेखि पावरहाउस चोकसम्मका मुख्य नाला तथा पानी जमेको खाली स्थानहरूमा केन्द्रित गरिएको थियो । महानगर प्रमुखको निर्देशनमा बिहान १० बजेदेखि पम्पमा विषादीयुक्त घोल तयार गरी नाला तथा पानी जम्ने स्थानहरूमा छर्किने काम भइरहेको महानगरपालिकाको सरसफाइ व्यवस्थापन शाखाका अधिकृत सरफुदिन मियाले जानकारी दिए ।
उनका अनुसार महानगरका ३२ वटै वडामा दैनिक रूपमा लामखुट्टे नियन्त्रणका लागि विषादी छर्ने कार्य सञ्चालन भइरहेको छ । वीरगन्जमा चिसो र गर्मी मौसममा लामखुट्टेको अत्यधिक प्रकोप देखिने भएकाले महानगरले वर्षमा दुई पटक नियमित रूपमा विषादी छर्ने कार्य गर्दै आएको छ ।