धनुषा र सर्लाही जिल्लामा भएका छुट्टाछुट्टै मोटरसाइकल दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३ मा तीन वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी सरोज राईका अनुसार गएराति करिब ८ बजेतिर भएको दुर्घटनामा हरीपुर्वा नगरपालिका–९ मिर्चैया बस्ने करिब ३० वर्षीय मुकेश राय र सोही स्थानका ३० वर्षीय रामज्ञान रायको मृत्यु भएको छ ।
दुर्घटनास्थलमा अचेत अवस्थामा फेला परेका उनीहरूलाई मलंगवास्थित प्रादेशिक अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा हरीपुर्वा नगरपालिका–९ कै २२ वर्षीय विक्रम राय र रामविश्वास राय सामान्य घाइते भएका छन् । घटनाबारे थप अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बाँके–संग्रामपुर सडक खण्डको ठिल्ला नजिक भारतीय नम्बरका तीन वटा मोटरसाइकल एकै स्थानमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
यसअघि धनुषामा पनि मोटरसाइकल दुर्घटनामा दुई जनाको ज्यान गएको थियो । धनुषाधाम नगरपालिका–३ स्थित धनुष मन्दिरको पूर्वतर्फ रहेको पुलबाट मोटरसाइकल खस्दा मंगलबार साँझ करिब ८ बजे दुई युवकको घटनास्थलमै मृत्यु भएको हो ।
प्रदेश २–००७ प ६९४६ नम्बरको मोटरसाइकल दुर्घटनामा क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगर बस्ने करिब २५ वर्षीय रामभरोस ठाकुर र २८ वर्षीय दिनेश साहको ज्यान गएको प्रहरीले जनाएको छ ।
मखनाहाबाट धनुषाधामतर्फ जाँदै गरेको मोटरसाइकल बालगंगा पुलबाट तल खसेको इलाका प्रहरी कार्यालय धनुषाधाम ले जनाएको छ । प्रारम्भिक अनुसन्धानअनुसार मदिरा सेवनका कारण सवारी अनियन्त्रित भई दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ ।
यद्यपि मृतकका परिवारजनले भने विपरीत दिशाबाट आएको सवारीले ठक्कर दिएको हुन सक्ने आशंका गर्दै निष्पक्ष छानबिनको माग गरेका छन् । करिब दुई वर्षअघि विवाह गरेका रामभरोस १५ दिनअघि मात्रै विदेशबाट फर्किएका थिए । घुम्न निस्केका दुवै युवकको दुर्घटनामा मृत्यु भएपछि स्थानीय टोल शोकमग्न बनेको छ ।