रौतहटको गौर नगरपालिकास्थित पावर हाउस नजिक आज एक यात्रुवाहक बस दुर्घटनामा परेको छ । गौरबाट चन्द्रपुर नगरपालिकातर्फ जाँदै गरेको ना ८ ख ८७६३ नम्बरको बस अनियन्त्रित भई सडक किनारको बिजुलीको पोलमा ठोक्किएको हो ।
दुर्घटनामा बसको अगाडिको भाग क्षतिग्रस्त भएको छ भने बिजुलीको पोल ढलेको छ । बसमा सवार सबै यात्रुहरू सुरक्षित रहेका छन्। केही यात्रुलाई सामान्य चोटपटक लागेको बताइएको छ ।
घटना भएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीको टोली उद्धार कार्यमा खटिएको थियो । बसमाथि बिजुलीको तार खस्ने जोखिम देखिएपछि थप क्षति हुन नदिन तत्काल विद्युत् आपूर्ति बन्द गरिएको थियो ।
प्रारम्भिक रूपमा तीव्र गतिका कारण बस अनियन्त्रित भएको हुन सक्ने अनुमान गरिएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।