रौतहटको गौरमा दुई समुदायबीच झडप भएपछि प्रशासनले स्थिति नियन्त्रणमा लिन कर्फ्यू आदेश जारी गरेको छ । गौर नगरपालिका–६ सपगडा टोलमा विवाहको बाजा बजाउँदै गइरहेका जन्तीमाथि फरक समुदायका केही व्यक्तिले अवरोध खडा गरेपछि सुरु भएको विवादले उग्र रूप लिएपछि स्थानीय प्रशासनले कडा कदम चालेको हो ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार शनिबार साँझ भएको विवाद केही समयमै झडपमा परिणत भएको थियो । दुवै पक्षबीच ढुंगामुढा र तोडफोड भएको जनाइएको छ । झडपका क्रममा केही सर्वसाधारण घाइते भएका छन् भने केही घर तथा सवारीसाधनमा क्षति पुगेको प्रारम्भिक विवरणमा उल्लेख छ ।
स्थिति थप तनावपूर्ण बन्ने संकेत देखिएपछि प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बसेको सुरक्षा समिति बैठकले प्रभावित क्षेत्र आसपास कर्फ्यू आदेश जारी गर्ने निर्णय गरेको हो । कर्फ्यू आदेश जारी भएसँगै सुरक्षा निकायको उपस्थिति बढाइएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाको टोली परिचालन गरी क्षेत्रको सुरक्षा कडा पारिएको प्रशासनले जनाएको छ ।
प्रशासनले सर्वसाधारणलाई कर्फ्यू अवधिमा घरभित्रै बस्न र अफवाहमा विश्वास नगर्न आग्रह गरेको छ । सामाजिक सञ्जालमार्फत भ्रामक सूचना नफैलाउन समेत चेतावनी दिइएको छ । आवश्यक सेवाका सवारीसाधन र सुरक्षाकर्मीलाई भने आवतजावतमा सहुलियत दिइएको बताइएको छ ।
स्थानीय बासिन्दाका अनुसार विवाहको बाजा बजाउने विषयलाई लिएर दुई पक्षबीच भनाभन सुरु भएको थियो, जुन पछि झडपमा परिणत भएको हो । अहिले अवस्था नियन्त्रणमा रहेको सुरक्षा अधिकारीहरूले बताएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । दोषी पहिचान गरी कानुनी कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ ।