प्रधानमन्त्री सुशीला कार्कीले प्रतिनिधि सभाको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण बनाउन सुरक्षा निकायका प्रमुखहरुलाई निर्देशन दिएकी छन् ।
शनिबार बुटवलमा लुम्बिनी प्रदेशका सुरक्षा अधिकारीहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अहिले सरकारको मुख्य कार्यादेश शान्तिपूर्ण र निष्पक्ष निर्वाचन भएकोले सोहीमा सबै ध्यान केन्द्रित गर्न र भरपर्दो सुरक्षा रणनीति तयार गरेर अघि बढ्न निर्देशन दिएकी हुन् ।
प्रधानमन्त्रीले सबै सुरक्षा निकायका प्रमुखहरुबाट प्रदेशको सुरक्षा अवस्थाबारे जानकारी पनि लिएकी थिइन् । प्रदेशका प्रमुख सचिव कृष्णप्रसाद काप्रीका अनुसार चुनाव नजिकिएसँगै प्रधानमन्त्रीले आगामी सुरक्षा रणनीति र सरकारको योजनाबारे निर्देशन दिएका छन् ।
बैठकमा सहभागी सुरक्षा अधिकारीहरुले भारतसँग जोडिएको लुम्बिनी प्रदेशको ५१४ किलोमिटर खुला सीमाबाट हुन सक्ने सम्भावित जोखिम र त्यसलाई रोक्न सक्ने रणनीति तयार गरी अघि बढिएको जानकारी प्रधानमन्त्रीलाई दिएका थिए ।
लुम्बिनी प्रदेशका तराईका ६ जिल्लाको खुला सीमा क्षेत्र मुख्य चुनौती भएको र पहाडी जिल्लामा फरक–फरक सुरक्षा चुनौती रहेको पनि बैठकमा जानकारी गराइएको थियो। साथै, सुरक्षा निकायका प्रमुखसँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागत अवस्था पनि प्रस्तुत गरेका थिए ।