नेपाल कम्युनिष्ट पार्टी (एमाले) (एमाले) को चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा एक जना निर्वाचन प्रहरी पक्राउ परेका छन् ।
प्रहरीका अनुसार महादेव गाउँपालिका–५ का २५ वर्षीय हरिनारायण मण्डललाई झण्डा जलाएको आरोपमा नियन्त्रणमा लिइएको हो ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत महादेव गाउँपालिका–५ भगवतपुर चोकमा एमालेले चुनावी प्रचारप्रसारका लागि झुन्ड्याएर राखेको झण्डा निकालेर आगजनी गरेको आरोप उनीमाथि लागेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका मण्डल निर्वाचन प्रहरीमा समेत कार्यरत रहेको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिएका छन् ।