नेपाल–भारत सीमा क्षेत्रमा प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरक्षा सतर्कता बढाइएको छ । शनिबार वीरगन्ज मा सम्पन्न सीमा समन्वय समितिको बैठकले निर्वाचनभन्दा ७२ घण्टा अघिदेखि भारतसँगको सीमा पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ ।
वीरगन्जस्थित एकीकृत सुरक्षा जाँचचौकीमा सम्पन्न द्विपक्षीय बैठकमा निर्वाचनका बेला हुन सक्ने क्रस–बोर्डर अपराध रोक्न आवश्यक सतर्कता अपनाउने सहमति भएको छ । साथै सीमावर्ती क्षेत्रमा मदिराको खरिद–बिक्री तथा सेवन नियन्त्रण र नक्कली नोट कारोबारमा निगरानी बढाउने निर्णय पनि गरिएको छ ।
बैठकमा भारतीय पक्षले पहिलो पटक वीरगन्ज हुँदै रक्सौल प्रवेश गर्ने सिर्सिया नदीमा भइरहेको जलप्रदूषणप्रति चिन्ता व्यक्त गरेको छ । भारतीय पक्षले नेपाल हुँदै भारततर्फ जाने पानीलाई वाटर ट्रिटमेन्ट प्लान्टबाट प्रशोधन गरेर मात्र पठाउन नेपाली पक्षसँग आग्रह गरेको छ । यसअघि भएका यस्ता बैठकमा भारतीय पक्षले यो विषय उठाएको थिएन ।
यसका अतिरिक्त नेपाल–भारत सीमामा भइरहेको अतिक्रमण हटाउन भारतीय पक्षले नेपाली पक्षसँग सहकार्यको माग गरेको छ ।
बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल, बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, भारतको बिहार राज्यअन्तर्गत पूर्वी चम्पारण जिल्लाका डिक्स्ट्रिक्ट मेजिस्ट्रेट सौरभ जोरवाल तथा पश्चिम चम्पारणका जिल्ला मेजिस्ट्रेट धर्मेन्द्र कुमार को नेतृत्वमा दुवै देशका सुरक्षा अधिकारीहरू सहभागी थिए ।
नेपालतर्फबाट नेपाली सेना बाहेक अन्य सबै सुरक्षा निकायका अधिकारीहरूको सहभागिता रहेको थियो ।